काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनाको तुलनामा यसपटक घरजग्गाको कारोबारमा ६.६७ प्रतिशतले कमी आएको हो ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरका मालपोत कार्यालयहरुबाट १ लाख १४ हजार ८३० वटा लिखत पारित भएका थिए । उक्त संख्यामा यसपटक ६.६७ प्रतिशतले कमी आएर १ लाख ७ हजार १६० मा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ९४ हजार ३४३ वटा लिखतपारित भएको थियो ।
लिखतपारितको संख्यामा कमी आएसँगै घरजग्गा कारोबारबापत संकलन हुने राजस्वमा पनि कमी आएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कारोबारबापत १० अर्ब ६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक घटेर १० अर्ब ६४ लाख रुपैयाँमा सिमित भएको छ ।



