images
images

डुबानमा परेकाहरूको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी


  • 264
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    डुबानमा परेकाहरूको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी

    काठमाडौं । सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको हो । मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा भएको डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि निजी हेलिकप्टर पनि ‘स्ट्यान्डबाई’ राख्न लागिएको हो ।  

    गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो । 

    बैठकमा वर्षात निरन्तर भइरहेको र सेनाको हेलिकप्टरले मात्रै विपद्मा परेकाको खोज तथा उद्धारमा कठिन देखिएपछि निजी हेलिकप्टर प्रयोग गर्ने विषयमा छलफल भएको थियो । निजी वायु सेवा कम्पनीको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरु सेवा दिन तयार रहेको बताउनु भएको थियो । उहाँले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिएका थिए । 

    त्यसपछि बैठकमा ती हेलिकप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने भएको छ । त्यसको समन्वय गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले गर्ने छ । निजी हेलिकप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ । बैठकमा गृहमन्त्री खाँणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 


    images
    images

    Logo