काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा लुम्बिनी प्रदेशले ९.४३ प्रतिशत बजेट मात्रै खर्चिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनीले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि छुट्याइएको कुल बजेटमध्ये प्रदेशले असोज मसान्तसम्ममा ९.४३ प्रतिशत मात्रै खर्च गरेको हो ।
प्रदेशले चालू आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, असोज मसान्तसम्म ९.४३ प्रतिशत अर्थात् ३ अर्ब ६७ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
३ महिनाको अवधिमा प्रदेश सरकारले चालू खर्चका लागि विनियोजन गरेको बजेटको ११.६८ प्रतिशत रकम खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षमा चालू खर्चका लागि १४ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये, असोज मसान्तसम्ममा १ अर्ब ६८ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
त्यस्तै, सो अवधिमा सरकारले पुँजीगत खर्चका लागि विनियोजन गरिएको बजेटको ८.१२ प्रतिशत रकम खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये, ३ महिनामा १ अर्ब ९९ करोड रुपैयाँ मात्र खर्च भएको छ ।



