गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।
साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन हालै सञ्चालनमा आएको छ । जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले सुरुवात गरेको हो । भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत दिनेश महर्जनले जानकारी दिए।
उनका अनुसार सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको एक दशकपछि सो कम्पनीले आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो । सुपरम्यान जिपलाइनमा सुतेर यात्रा गरिन्छ ।
“समुद्री सतहदेखि १ हजार ५ सय ५० मिटरको उचाइमा रहेको सराङकोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर दूरी छ”, उनले भने, “यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्य नभएकोले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएका छौं ।”
विश्वकै लामोमध्येको १ हजार ८ सय ५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट समय लाग्छ । जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङकोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङकोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न पाउँछन् । ३५ देखि १२० किलोग्राम तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन् ।
जीपलाइनको शुल्क नेपालीका लागि ६ हजार ५सय र विदेशीका लागि ८ हजार ५ सय कायम गरिएको छ । यसमा फोटो भिडियो र टिसर्ट प्याकेजका लागि अतिरिक्त १ हजार ५ सय रुपैयाँ शुल्क राखिएको छ । अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशेषता हो ।
जिपलाइनकै ग्राउन्ड स्टेशन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रुपमा रहेको यहाँ जोडिसँगै अँगालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ । जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी महर्जनले बताए ।



