images
images

कोरोना महामारी

निजी अस्पतालमा कोरोना संक्रमित शुन्य, सरकारी अस्पताल पनि रित्तिँदै

चाडबाडको भीडभाडबीच कोरोना संक्रमण नियन्त्रणउन्मुख


  • 315
    SHARES
  • २०७८ आश्विन ३१ गते आइतबार

    निजी अस्पतालमा कोरोना संक्रमित शुन्य, सरकारी अस्पताल पनि रित्तिँदै

    काठमाडौं । दशैं पर्व र मानिसहरुको भीडभाड र आवतजावतबीच कोरोना महामारी नियन्त्रणउन्मुख देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले दिन प्रतिदिन कोरोनाको नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । यसले गर्दा कुल सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म कुल सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ९८ जनामा झरेको छ । 

    ५ महिना अघि नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ जनासम्म पुगेको थियो । त्यतिबेला अक्सिजन तथा अस्पतालमा बेडको अभावले हाहाकारको अवस्था सिर्जना भएको थियो । तर, संक्रमितको संख्या घट्दै जाँदा यतिबेला अस्पतालहरु खाली हुँदै गएका छन् । सरकारी अस्पतालमा क्षमताको १५ प्रतिशत भन्दा कम संक्रमित छन् भने निजी अस्पतालमा संक्रमित बिरामीको संख्या नगन्य मात्रै रहेको छ । 

    मन्त्रालयका अनुसार अहिले शुक्रबारसम्म कुल १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित देखिएका छन् ।  त्यसमध्ये ११ हजार ५ सय ४४ सामान्य अवस्थामा होम आइशोलेसनमा बसिरहेका छन् । १ हजार ५४ जना संस्थागत आइशोलेसनमा छन् भने ३ सय ७ जना आईसीयूमा र ९७ जना भेन्टिलेटरमा रहेका छन् । 

    अहिले आईसीयूमा रहेकामध्ये अधिकांश बिरामीहरु सरकारी अस्पतालमा छन् । सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामति अस्पताल, भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र धुलिखेल अस्पतालमा समेत गरी शुक्रबारसम्म ३ सय ३९ जना संक्रमित रहेको जनाइएको छ । जबकी यी अस्पतालहरुमा जेनेरलदेखि भेन्टिलेटरसम्मका लागि कुल १ हजार ९ सय २२ जनाको उपचार गर्ने क्षमता रहेको छ । 

    चाडवाडले बढाएन संक्रमण

    दशैं लगायत चाडवाडमा हुने आवतजावत र भीडभाडका कारण कोरोना संक्रमण बल्झिने आशंका मन्त्रालयका अधिकारीहरुको थियो । त्यसैले चाडवाडको समयमा भीडभाड नगर्न र सचेत हुन मन्त्रालयका अधिकारीहरुले आग्रह गर्दै आएका थिए । तर, यसपटक दशैं सकिदैगर्दा पनि संक्रमितको संख्या उल्लेख्य रुपमा बढेको छैन बरु निको हुनेको संख्या घट्दै जाँदा सक्रिय संक्रमितको संख्या समेत घट्दै गएको छ । 
    शनिबार देशभर १ हजार ७ सय ७३ परीक्षण भएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दर परीक्षणको १० प्रतिशत भन्दा कम हो । ५ महिना अघि देशव्यापी निषेधाज्ञाको समयमा नेपालमा झन्डै ४० प्रतिशतसम्म परीक्षण पोजेटिभ देखिएको थियो । यो दर अहिले ह्वात्तै घटेको छ । 

    डेढ करोडले पाए कोरोना खोप

    यसरी कोरोना नियन्त्रण हुनुमा खोप अभियान मुख्य कारण रहेको सरकारी अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार दशैं बिदा हुनु अघिसम्म झन्डै १ करोड ४९ लाखले कोरोनाविरुद्धको खोप लगाएका छन् छन् । त्यसमध्ये ६४ लाख ६९ हजारले पूर्ण खोप पाएका छन् भने ८३ लाख ८१ हजार जनाले पहिलो डोज खोप लगाएका छन् । अहिलेसम्म पूर्ण डोज खोप लगाउनेको संख्या झन्डै २२ प्रतिशत रहेको छ । पहिलो र दोस्रो चरण डोज समेत गरी झन्डै ५० प्रतिशतले खोप लगाएका छन् ।

    कति ढुक्क हुने ? 

    अहिले सक्रिय रहेका कुल संक्रमितको संख्या आफैंमा कम भने होइन । पहिलो लहरको महामारीको समयमा पनि नेपालमा सक्रिय संक्रमितको संख्या एकैपटक ४६ हजार नाघेको थियो । तर, यो संख्या घटेर ५ सय ६२ जनासम्ममा झरेको थियो । तर, दोस्रो लहरसँगै यो संख्या १ लाख १६ हजारसम्म पुगेको थियो । 

    अघिल्लो वर्ष चाडवाडका कारण संक्रमितको संख्या बढेको पाइएको थियो । तर, यो वर्ष संक्रमण दर खासै बढेको देखिएको छैन । अघिल्लो वर्ष नेपालमा कोरोना विरुद्धको खोप आएको थिएन । यसले गर्दा पनि संक्रमण बल्झिएको थियो । अहिले झन्डै आधा जनसंख्याले खोप पाइसकेको अवस्थामा महामारीको अर्को लहर नआउने विश्वास गर्न सकिन्छ । यद्यपि ढुक्क भइहाल्ने अवस्था भने अहिले पनि नरहेको स्वास्थ्यविद्हरुको भनाइ छ । 

     


    images
    images

    Logo