images
images

पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण


  • 382
    SHARES
  • २०७८ आश्विन २८ गते बिहीबार

    पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण

    खोटाङ, २८ असोज । रासस  । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी रु २४ लाख २९ हजार ७०६को लागतमा पार्क निर्माण गरिएको हो ।

    विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । “सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी बरपीपलको ठूलो रुख ढालिएको थियो”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।”

    ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसैगरी उपभोक्ता समितिबाट ९दश प्रतिशत० रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्क शुभारम्भ गर्नुभएको थियो । भौतिक पूर्वाधार निर्माणमा जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि देखिएको गाउँपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासलाई जोड दिएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौँ वडा रहेको उक्त गाउँपालिकाका हरेक वडामा एक÷एक पर्यटकीय गन्तव्य बनाउन धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नति भइरहेकोे छ ।

    पर्यटन प्रवद्र्धनअन्तर्गत पर्यटकीयस्थल कपासेभञ्ज्याङमा राष्ट्रिय विभूति पार्क, इन्द्रेणीपोखरीमा इन्द्रेणीको आकृति, रोक्सिमभञ्ज्याङमा रहेको भालेढुङ्गा स्तरोन्नतिलगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । छिमेकी जिल्ला भोजपुरसँगको सिमानामा पर्ने कपासेभञ्ज्याङमा प्रदेश नं १ सरकारको समेत लगानी रहेको त्यहाँका वडाध्यक्ष दीपेन थुलुङले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका छन् । विश्वप्रसिद्ध त्रिधार्मिक धाम हलेसी आउने पर्यटकलाई आफ्नो क्षेत्रमा तान्ने उद्देश्यका साथ जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति, पूर्वाधार निर्माण एवं प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका हुन् ।

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुइपामा यलम्बरको मूर्ति, किराँत ऐतिहासिकस्थल मझुवागढीमा वाबु चिन्डो, बगरेभञ्ज्याङमा पेनटावर तथा कृतिम ताल, रुपाकोटमा भ्यूटावर, भुलभुलेमा रुवालुङ भरना बनाउन थालेकोे छ । उता, त्रिधार्मिकधाम हलेसीमा रहेको हलेसी तुवाचुङ नगरपालिकाले पनि पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिएको छ ।

    एघार वडा रहेको उक्त नगरपालिकाले वडा नं ७ महादेवीस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा र कगार्डेन, मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा, मङ्गलटारमा रहेको महादेव बुक्टो स्तरोन्नतिलगायत कामलाई तीव्रता दिएको हो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा विकास एवं प्रवद्र्धन गर्न नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा स्तरोन्नतिका कामलाई जोड दिएको हो ।


    images
    images

    Logo