images
images

डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा ३ जना पक्राउ


  • 436
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा ३ जना पक्राउ

    काठमाडौं । डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२७ सुनकोठी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 
     
    पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि नयाँबजार बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका(५ प्याङचे टोल घर भएका २३ वर्षीय सविन प्रजा, ललितपुर महानगरपालिका(२८ हरिसिद्धि बस्ने मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भएका २० वर्षीय सुमुन मगर र १८ वर्षीया किशोरी रहेका छन् । उनीहरुमध्ये सुमनलाई बिहीबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धि र सविन तथा किशोरीलाई मकवानपुर मनहरी गाउँपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

    भदौ २५ गते बिहान कमलाको डोरीले घाँटी कसी हत्या भएको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवन र महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

    सविन र सुमनले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरु महत्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुन्छ भन्दै अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमनको पूर्व चिनजानकी टहरामा एक्लै बस्ने कमलालाई गत भदौ २४ गते साँझ टहरामा गई खानपीन गरी सुत्ने बेलामा घाँटीमा डोरीले कसी हत्या गरेपछि उनले लगाएको गहना र मोबाइल समेत लुटी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

    उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    हत्या गरेको अभियोगमा पक्राउ 

    ललितपुर बाग्मती गाउँपालिका– प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका–७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् । सोही घटनामा संलग्न गोदावरी नगरपालिका(११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् । 

    गोदावारी नगरपालिका–७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको  हो । 

    उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


    images
    images

    Logo