काठमाडौं । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले उनकाे नियुक्तिबारे आएका अन्यायपूर्ण समाचार र कानुनविद्हरुकाे प्रश्नका कारण राजीनामा दिएका छन् ।
विभिन्न सञ्चार माध्यममा आफ्नो नियुक्तिबारे आएका समाचार र कानुनविद्हरुले उठाएका प्रश्नका कारण मन्त्री पदबाट राजीनामा गरेको हमालले बताएका छन् ।
'मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पद भन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बिच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार विहान उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत गरेका हुन् । देउवाकै निर्देशन अनुसार हमालले राजीनामा दिएका हुन्।
प्रधानमन्त्रीलाई सम्वोधन गर्दै हमालले आफू लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको आफूले ठानेको राजीनामा पत्रमा लेखेका छन्।
त्यस्तै, लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील रहेका उनले राजीनामामा आफ्नो नियुक्तिलाई अन्यायपूर्वक ढङ्गबाट अन्यत्र जोडेर समाचार प्रवाह भएकोमा आपत्ति ब्यक्त गरेका छन् । उनले आफू पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकै कारण पनि राजीनामा दिएको बताएका छन् ।



