images
images

दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या ९ लाख नाघ्यो 


  • 412
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या ९ लाख नाघ्यो 

    काठमाडौैं । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए । “अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ”, महाशाखाका प्रमुख भट्टराईले भने , “यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।”

    यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २ सय २६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४ सय ८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७ सय ४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४ सय ३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् । 

    यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १ सय ४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८ सय १४ सवारी साधनमा ४५ हजार ३ सय ६२ यात्रु बाहिरिए । महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७ सय ७८ सवारीमा ३२ हजार ९ सय ८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३ सय १५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ ।

    असोज १ देखि २२ सम्ममा कूल १ लाख ४२ हजार २ सय २७ सवारी साधनमा ७ लाख ७६ हजार ३ सय ७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल १ लाख ४३ हजार ७ सय ७३ सवारी साधनमा ८ लाख ७० हजार ४ सय ९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ । प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् । 

    यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ । त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

    यसपाली  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । 

    प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ ।

    यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिएका छन्  ।

    चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ ।


    images
    images

    Logo