काठमाडौं । सरकारले यस आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि विश्व बैंकले सन् २०२१ र २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले साउथ एशिया इकोनोमिक फोकस स् साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।
बैंकले आज जारी गरेको रिपोर्ट अनुसार नेपालको आर्थिक बृद्धिदर सरकारको लक्ष्यभन्दा ३ दशमलब १ प्रतिशत कम रहने छ । उक्त रर्पिोटले सन् २०२१ जुलाईदेखि २०२२ जुलाई सम्मको अवधिमा नेपालले आर्थिक वृद्धि यो दरमा हासिल गर्ने जनाएको हो।
अघिल्लो वर्ष बैंकले नेपालको आर्थिक वृद्धि १ दशमलव ८ प्रतिशतको मात्र हुने अनुमान गरेको थियो। तर कोभिडविरुद्धको खोप, पर्यटन गतिविधि र वैदेशिक रोजगारीमा जाने बढ्दाे श्रमिकले आर्थिक वृद्धिको सम्भावना राम्रो हुँदै गएको बैंककाे विज्ञप्तिमा उल्लेख गरिएको छ।
बैंकका रिर्पोट अनुसार यस आर्थिक वर्षमा दक्षिण एसियाबाट माल्दिभ्सको सबैभन्दा बढी आर्थिक वृद्धि रहने छ, जुन ११ प्रतिशतको बृद्धि रहने छ । त्यस्तै सबैभन्दा कम श्रीलंकाको रहने बैंकले प्रक्षेपण गरेको छ, जुन २ दशमलब १ प्रतिशतको बृद्धि हुने छ ।
कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले आर्थिक क्षेत्रको गतिविधि बढ्दै गई यसको प्रभाव समग्र दक्षिण एसियाली मुलुकमा पर्ने बैंकले उल्लेख गरेको छ ।



