images
images

नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य


  • 317
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य

    काठमाडौं । पेरिस सम्झौताको भावना अनुसार कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट आज बुधबार एक छलफल कार्यक्रमको आयोजना गरियो । 

    बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो मा आयोजना हुन गइरहेको ‘द यूएन क्लाइमेट चेञ्ज कन्फरेन्स’को पूर्वतयारी स्वरुप  कार्यक्रम आयोजना गरिएको हो । लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली दुतावास  र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागको संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना भएको हो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै माननीय अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरुलाई अनुरोध गर्नु भयो । यस सन्दर्भमा नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

    सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गर्दै सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवर्द्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको बताउनु भयो । उहाँले नवीकरणीय तथा स्वच्छ उर्जाको विकासको लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकुल सुधार गरी लगानीको लागि अनुकुल वातावरण तयार पारेको समेत बताउनु भयो ।

    कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्ले र लगानी बोर्डको कार्यालयका सि।डि।ई सागरराज गौतमले नेपालमा हरित लगानीको सम्भावना र क्षेत्रहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    नेपाल र बेलायतका लगानीकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा युके(नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपालस्थित बेलायती महामहिम राजदूत निकोला पोलिट र नेपाली राजदूतावासकी डेपुटी हेड अफ मिसन रोशन खनालले हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरुबीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गरेका थिए ।

    कार्यक्रममा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्षहरुले समेत सम्बोधन गरेका थिए ।


    images
    images

    Logo