काठमाडौं । चालू आर्थिक वर्षको पहिलो २५ दिनमा सरकारले करिब साढे ७९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को श्रावण १ देखि २५ गतेसम्ममा सरकारले कर राजस्व र गैरकर राजस्वबापत ७९ अर्ब ४९ करोड रुपैयाँ संकलन गरेको हो ।
सो अवधिमा सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यको ५.६१ प्रतिशत रकम संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म ७९ अर्ब ४९ करोड रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांकमा जनाइएको छ ।
कुल रकममध्ये कर राजस्व शिर्षकमा सरकारले ६२ अर्ब ६४ करोड २० लाख रुपैयाँ संकलन गरेको छ । उक्त रकम लक्ष्यको ४.८९ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले कर राजस्व शिर्षकमा १२ खर्ब ८४ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै, गैरकर शिर्षकमा सरकारले २५ दिनको अवधिमा लक्ष्यको १२.४८ प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा सरकारले गैरकरबापत १ खर्ब ३५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छि । जसमध्ये, सो अवधिमा १६ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ ।
खर्च १६ अर्ब
सो अवधिमा सरकारले १६ अर्ब रुपैयाँ खर्च गरेको कार्यालयको तथ्यांकमा देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँ खर्च गर्नका लागि विनियोजन गरेको थियो । जसमध्ये, हालसम्म ०.८७ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।



