काठमाडौं । चौधरी ग्रुपमाथि कर छलको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि चौधरी ग्रुपले आफूले तिरेको करको विवरण सार्वजनिक गरेको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरको जनाएको छ। यो राजश्व देशको कुल राजश्वको १.७३ प्रतिशत रहेको समेत उल्लेख गरिएको छ ।
विनोद चौधरीले तिर्ने गरेको करबारे प्रत्येक वर्ष प्रश्न उठ्दै गर्दा ग्रुपले आफ्नो कर विवरण सार्वजनिक गरेको हो । एउटा व्यापारिक समूहबाट तिरिएको कर सम्भवतः यो नै सबैभन्दा बढी भएको समेत चौधरी ग्रुपले दाबी गरेको छ ।
आर्थिक बर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७५/७६ मा ११ अर्ब ६७ करोड र आ.व. २०७४/७५ मा ९अर्ब ६७ करोड राजश्वमा योगदान गरेको पनि जनाएको छ ।
‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ । स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु’ विज्ञप्तीमार्फत् विनोद चौधरीले भनेका छन् ।



