काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा गलैंचाको निर्यात घटेको छ । भन्सार विभागको आयात निर्यातको तथ्यांक अनुसार गत आर्थिक वर्षमा गलैंचाको निर्यात आर्थिक वर्ष २०७९/८० को तुलनामा ८ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षमा नेपालबाट नेपालबाट १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात भएको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ८.११ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ११ अर्ब ५० करोड रुपैयाँ बराबर रकममा ४ लाख ९२ हजार वर्गमिटर गलैंचा निर्यात भएको थियो ।
विगतका आठ आर्थिक वर्षहरुमा नेपालबाट ६६ अर्ब रुपैयाँ बराबरको गलैंचा निर्यात भएको विभागको तथ्यांकमा देखिएको छ । नेपालमा उत्पादित गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।
कुन वर्षमा कति निर्यात ?
आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट ७ अर्ब २९ करोड रुपैयाँ बराबर रकममा ५ लाख ३ हजार वर्ग मिटर गलैंचा निर्यात भएको तथ्यांकमा उल्लेख छ । त्यसलगत्तैको अर्को आर्थिक वर्षमा ५ लाख ५० हजार वर्ग मिटर गलैंचा ७ अर्ब ८ करोड रुपैयाँमा निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा गलैंचा हालसम्मकै उच्च परिमाणमा निर्यात भएको तथ्यांकमा देखिएको छ । त्यसपछिका वर्षहरुमा निर्यात भएको गलैंचाको परिमाण ५ लाख वर्गमिटर पुग्न सकेको छैन ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट ७ अर्ब ३६ करोड रुपैयाँ बराबर रकममा ४ लाख ३ हजार वर्गमिटर गलैंचा निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछिको वर्ष २०७६/७७ मा भने कोरोना महामारीका कारण गलैंचा निर्यातको परिमाण साथै निर्यात मूल्यमा पनि गिरावट आएको छ । सो आर्थिक वर्षमा नेपालबाट ६ अर्ब १५ करोड रुपैयाँ बराबर रकममा ३ लाख ८ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो ।
त्यसपछिका आर्थिक वर्षहरुमा भने गलैंचाको निर्यात बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा क्रमशः ४ लाख ४० हजार र ४ लाख ९४ हजार वर्गमिटर गलैंचा क्रमशः ७ अर्ब २४ करोड रुपैयाँ र ९ अर्ब ५६ करोड रुपैयाँमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा निर्यात परिमाणमा केही कमी आएतापनि गलैंचाको निर्यात मूल्य भने बढेको छ । सो वर्षमा नेपालबाट ११ अर्ब ५० करोड रुपैयाँ बराबर रकममा ४ लाख ९२ हजार वर्गमिटर गलैंचा बाहिरिएको थियो । उक्त वर्षको गलैंचाको निर्यात मूल्य ८ वर्षयताकै उच्च हो ।

तर, गत आर्थिक वर्षमा भने गलैंचाको निर्यात परिमाण र मूल्य दुबैमा कमी आएको छ । सो वर्षमा १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात भएको विभागको तथ्यांकमा जनाइएको छ ।



