images
images

एक वर्षमा नेपालबाट १६ अर्ब ९३ करोडको बिजुली भारत निर्यात


  • 414
    SHARES
  • २०८१ श्रावण १३ गते आइतबार

    एक वर्षमा नेपालबाट १६ अर्ब ९३ करोडको बिजुली भारत निर्यात

    काठमाडौं । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट भारतमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हो ।

    प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएकाे बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड– एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

    प्राधिकरणले गएको आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको बिजुली आयात गरेको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटेर देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्ने हुँदा माग धान्न गएकाे आर्थिक वर्षमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ । हिउँदयाममा आयात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट नाै रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको धेरै बिजुली भारततर्फ निर्यात भएको छ । यसैगरी ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी बिजुली निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल बिजुलीकाे खुद निर्यातकर्ता बनेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदा केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न बिजुली आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए । थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्त्वपूर्ण उपलब्धि भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

    अहिले पनि नेपालले मिडियम टर्म, डे–अहेड र रियल टाइम मार्केटमा दैनिक सात सय मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६ सय ९० मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको हो । कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट बिजुली निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे ।


    images
    images

    Logo