काठमाडौं । आर्थिक वर्षमा २०८०/८१ मा हिमाली भेगमा पाइने जडिबुटी यार्साको निर्यात दोब्बर भन्दा धेरैले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्षमा यार्साको निर्यात ११७ प्रतिशतले बढेको देखिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ४४ करोड ३१ लाख रुपैयाँ बराबर रकममा ६८३ किलो यार्सा निर्यात गरिएको थियो । गत आर्थिक वर्षमा उक्त परिमाण दोब्बर भन्दा धेरैले बढेर १४ सय ८४ किलो पुगेको तथ्यांकमा देखिएको छ । गत आर्थिक वर्षमा यार्सा निर्यातबापत ७० करोड १८ लाख रुपैयाँ प्राप्त भएको थियो । निर्यात परिणाममा दोब्बर भन्दा धेरैको वृद्धि भएको भएतापनि मूल्यमा भने परिणामअनुरुपको वृद्धि भएको देखिँदैन ।
८ वर्षमा २० अर्ब ६२ करोडको यार्सा निर्यात
नेपालबाट विगतका ८ आर्थिक वर्षहरुमा २० अर्ब ६२ करोड रुपैयाँ बराबरको यार्सा निर्यात भएको छ । गत आर्थिक वर्षमा भने यार्साको निर्यात ८ वर्षयताकै उच्च परिणाममा भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट १ करोड ३० लाख रुपैयाँमा १४ किलो यार्सा निर्यात भएको थियो । त्यसपछिको आर्थिक वर्ष २०७४/७५ मा परिणाम र रकम दुबैमा वृद्धि भएर ५ करोड ६१ लाख रुपैयाँ बराबर रकममा ८३ किलो निर्यात भएको तथ्यांकमा जनाइएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा पनि यार्साको निर्यातमा निरन्तर वृद्धि भएको देखिएको छ । सो वर्षहरुमा क्रमशः ३३४ किलो र ३५६ किलो यार्सा क्रमशः १७ करोड ९४ लाख रुपैयाँ र २० करोड २२ लाख रुपैयाँमा निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा भने यार्साको निर्यात विगतको तुलनामा घटेको देखिएको छ । सो वर्षमा २६१ किलो यार्सा १५ करोड ७६ लाख रुपैयाँमा निर्यात भएको थियो । त्यसपछिका वर्षहरुमा भने यार्साको निर्यात निरन्तर बढिरहेको छ ।

गत आर्थिक वर्षमा नेपालबाट ७० करोड १८ लाख रुपैयाँ बराबर रकममा १४ सय ८४ किलो यार्सा निर्यात भएको थियो । त्यसअघिका आर्थिक वर्षहरु २०७९/८० र २०७८/७९ मा नेपालबाट क्रमशः ६८३ किलो र ५०३ किलो यार्सा ४४ करोड ३१ लाख रुपैयाँ र ३० करोड ९२ लाख रुपैयाँ बराबर रकममा बाहिरिएका थिए ।



