काठमाडौं । देशका विभिन्न सथानमा भएका छुट्छाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । सिरहा, काभ्रे, बाँके, बारा, रामेछाप, नुवाकोट र म्याग्दीमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
सिरहाका गोलबजार–३ गागनपुलमा ट्रकले हाईस र मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर–७ बस्ने ३५ वर्षीय अविषेक कटुवाल र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बस्ने २७ वर्षीय अच्युत लुईटेलको मृत्यु भएको हो ।
काभ्रेको धुलिखेल नगरपालिका–४ बाँसघारीमा शुक्रबार राति टिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ बस्ने ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर एनसीसी चोकस्थित सडकमा ट्याक्टरले मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक ३५ वर्षीय सन्तोष अधिकारीको मृत्यु भएको छ ।
बाराको परवानीपुर–३ माट्रकको ठक्करबाट पैदलयात्री कलैया उपमहानगरपालिका शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको शनिबार दिउँसो मृत्यु भएको छ ।
उता रामेछापको सुनापती गाउँपालिका–४ मा काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बोलेरो गाडी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार ४६ वर्षीया शारदा खत्रीको मृत्यु भएको छ ।
नुवाकोटको लिखु गाउँपालिका–५ डुडेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको छ ।
म्याग्दीको बेनी–५ पुलाचौरमा बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको छ । प्रहरीले सबै दुर्घटनाका दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।



