काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु आजदेखि भौतिक रुपमा सञ्चालनमा आएका छन्।
कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका विद्यालयहरुमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर भौतिक रुपमै कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।
तर, विद्यालयले नचाहेका अनलाइनबाटै कक्षा सञ्चालन गर्न पनि सकिन्छ । भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ ।
अभिभावकहरुले भने दशैंको मुखमा विद्यालय सञ्चालकको स्वार्थको लागि विद्यालय खोलेको आरोप लगाएका छन् । भौतिक रुपमा कक्षा सञ्चालन गर्दा शुल्क उठाउन सहज हुने भन्दै सञ्चालकहरुले महानगरलाई दबाब दिएको र त्यही प्रभावमा महानगरपालिकाले यस्तो निर्णय गरेको उनीहरुको आरोप छ ।



