काठमाडौं । गत आर्थिक वर्षमा साढे १० अर्ब बराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात भएको हो ।
गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने वस्तुहरुको शिर्ष स्थानमा गलैंचा रहेको छ । भन्सार विभागको जेठसम्मको र असारसम्मको तथ्यांकको तुलना गर्दा असारमा मात्रै नेपालबाट ८४ करोड रुपैयाँ बराबरको गलैंचा बाहिरिएको छ । जेठसम्ममा नेपालबाट ९ अर्ब ७३ करोड रुपैयाँको गलैंचा निर्यात भएको थियो । जुन असारमा बढेर १० अर्ब ५७ करोड रुपैयाँ पुगेको हो । त्यस्तै, जेठ एकै महिनामा ९४ करोड रुपैयाँ बराबर रकमको गलैंचा नेपालबाट निर्यात भएको थियो ।
सो परिणाममा गलैंचा निर्यात हुँदै गर्दा नेपालमा ५१ लाख १८ हजार रुपैयाँ बराबर मूल्यमा २२ हजार ३८६ वर्ग मिटर गलैंचा आयात समेत भएको छ । गलैंचा आयातबाट सरकारले २४ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।



