काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणको स्वीकृति दिने सम्बन्धमा यसअघिको कार्यविधिमा संशोधन गरेको छ । अघिल्लो वर्ष कार्यविधि बनाएर त्यस्तो स्वीकृति दिन थालेको बैंकले यसपटक मौद्रिक नीतिमा भएको व्यवस्थालाई समावेश गरेर कार्यविधि संशोधन गरिएको हो ।
संशोधित कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले पेश गरेको लेखारीक्षण प्रतिवेदनलाई साधारणसभा तथा प्रकाशन प्रयोजनार्थ स्वीकृति दिन तथा लाभांश घोषणाका लागि सहमति प्रदान गर्ने वा नगर्ने व्यवस्थाहरु समावेश छन् ।
कार्यविधिमा बैंकहरुले लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्ने ढाँचा, हिसाबकिताबको लेखांकन प्रणाली, राष्ट्र बैंकको निर्देशन परिपालना तथा जोखिमपूर्ण कर्जा तथा अन्य व्यवस्था भए नभएरको हेरिने उल्लेख गरिएको छ ।
त्यस्तै, लाभांश वितरणमा समेत पुँजीकोष अनुपात कायम भए नभएको सम्बन्धमा क्यापिटल एडेक्वेसी फ्रेमवर्कको व्यवस्था कार्यान्वयन, क्रस होल्डिङ, अधिकतम होल्डिङ लगायतका विषय समावेश गरिएका छन् ।
वाणिज्य बैंकहरुले नगद लाभांश प्रस्ताव गर्दा सो लाभांश बापतको रकम वितरणपश्चात कम्तीमा ११ प्रतिशत पुँजीकोष अनुपात कायम रहनेगरी मात्रै नगद लाभांश वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, एउटै संस्थामा एउटै व्यक्ति वा परिवारका सदस्यको १५ प्रतिशत भन्दा धेरै होल्डिङ भएमा लाभांश वितरण गर्न नपाउने, क्रस होल्डिङ भएमा त्यस्ता शेयरधनीले कुनै एउटा बैंक तथा वित्तीय संस्थाको शेयर बिक्री नगरेसम्म लाभांश वितरणमा रोक लगाउने जस्ता व्यवस्था छन् ।



