काठमाडौं । सुदेश खालिङको कुलिङ पिरियड सकिएको छ । सिटिजन्स बैंकको सञ्चालक समिति रहेका खालिङले गत चैतमा सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएका थिए । त्यसको करिब १५ दिनपछि एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
तर कुलिङ पिरियडसम्बन्धी राष्ट्र बैंकको नीतिका कारण उनको नियुक्तिलाई राष्ट्र बैंकले स्वीकार नगरेपछि उनी त्यतिकै बसेका थिए । ६ महिनाको कुलिङ पिरियड सकिएपछि उनले एभरेष्ट बैंकको जिम्मेवारी सम्हाल्न बाटो खुलेको छ । स्रोतका अनुसार उनले भोलि (शुक्रबार) देखि कार्यभरा सम्हाल्नेछन् । खालिङ सिटिजन्स बैंकको सञ्चालक हुनुभन्दालक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । उनले बैंकिङ करियरको लामो समय भने स्ट्यान्डर्ड चार्टर्ड बैंकमा बिताएका छन् ।
साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।



