काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को असार महिनामा घरजग्गाको कारोबार स्थिर रहेकाे छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस असार महिनामा घरजग्गाको कारोबार नगण्य संख्याले बढेको हो ।
गत असारमा देशभर ४४ हजार ४८५ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ४४ हजार ५७१ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । चालु आर्थिक वर्षको ५० हजार ९९८ वटा, चैतमा ४९ हजार १५० वटा, वैशाखमा ४२ हजार ४६१ वटा र जेठमा देशभर ६१ हजार १६१ वटा लिखतपारित भएका थिए ।
चालू आर्थक वर्षका विगतका महिनाहरुमा घरजग्गा काराेबार बढ्दै गर्दा पनि राजस्व संकलन भने घटेकाे थियाे । तर वैशाखदेखि भने काराेबार साथै राजस्व संकलन पनि बढेकाे छ । गत असारकाे तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व १७.५ प्रतिशतले बढेकाे छ । गत वर्षकाे असारमा ४ अर्ब २७ कराेड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक बढेर ५ अर्ब २ कराेड ३६ लाख रुपैयाँ पुगेकाे छ । गत वैशाखमा ३ अर्ब १० कराेड रुपैयाँ राजस्व संकलन भएकोमा यसपटक बढेर ३ अर्ब ८६ कराेड रूपैयाँ पुगेकाे थियाे । त्यस्तै, गत वर्षको जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक बढेर ४ अर्ब ३३ कराेड ९२ लाख रुपैयाँ पुगेकाे थियाे ।
असारमा सबैभन्दा धेरै लिखत पारित मालपोत कार्यालय इनरुवामा भएको छ । उक्त मालपोतमा जेठमा २ हजार १ लिखत पारित भएको छ । धुनषा जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार ८ सय १, झापा भद्रपुर १ हजार ५ सय ७९, मोरङ बेलबारीमा १ हजार ३ सय ८३ लिखत पारित भएको छ ।
मालपोत कार्यालय राजविराजबाट १ हजार ३ सय ८, भक्तपुर १ हजार २ सय १६, पर्सा १ हजार २ सय ४, लगनखेल १ हजार १ सय २९ र कलैया मालपोतबाट १ हजार १ सय २५, सिरहा लहान १ हजार ८५, महोत्तरी जलेश्वर १ हजार ६६ र मलंगवा मालपोतबाट १ हजार ६० लिखत पारित भएको छ ।



