काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ को अन्तिम दिनसम्म सरकारले ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको अनुसार गत आर्थिक बर्षको साउनदेखि असार मसान्सम्ममा सरकारले ८०.४५ प्रतिशत बजेट खर्च गरेको हो ।
गत आर्थिक बर्षको लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको थियो । आर्थिक बर्ष सकिँदासम्म सरकारले १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च गरेको छ । जुन कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत मात्रै हो ।
यस्तै, सरकारले चालु आर्थिक बर्षभरीमा ८३.४३ प्रतिशत चालु खर्च गरेको छ । गत आर्थिक बर्षको चालु खर्चका लागि सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये ९ खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खर्च भएको हो ।
पुँजीगत खर्चको अवस्था कमजोर
चालु खर्च ८० प्रतिशत भन्दा माथि रहँदा सरकारको पुँजीगत खर्चको अवस्था भने कमजोर देखिएको छ । सरकारले गत आर्थिक बर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक बर्षको अन्तिमसम्ममा सो शिर्षकमा छुट्टाएको बजेट कार्यान्वयन ६३.४७ प्रतिशत मात्रै पुगेको छ ।
राजस्व संकलन ७२ प्रतिशत
गत आर्थिक बर्षमा सरकारले ७२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । सरकारले गत आर्थिक बर्षको लागि १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले आर्थिक बर्षको अन्तिम सम्ममा १० खर्ब ३० अर्ब मात्रै संकलन गरेको हो ।
सार्वजनिक ऋणको सावाँ भुक्तानी बढ्यो
सरकारको कूल बजेट खर्च घटेको छ भने सार्वजनिक ऋणको सावाँब्याज भुक्तानी खर्च बढेको छ। अघिल्लो वर्षको तुलनामा सार्वजनिक ऋणको सावा फिर्ता र अन्य सेवा खर्च करिब एक खर्ब रुपैयाँले बढेको छ।
विशेष गरी सार्वजनिक ऋणको सावा भुक्तानी र सार्वजनिक संस्थानमा ऋण लगानीको लागि खर्च गरिने वित्तीय व्यवस्थापन खर्च गत वर्षको तुलनामा करिब ७५ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष यस्तो खर्च एक खर्ब ९० अर्ब रुपैयाँ भएकोका थियो। यो पटक भने करिब २ खर्ब ६५ अर्ब रुपैयाँ भएको छ।



