काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को ३ करोड ६२ लाख कित्ताभन्दा बढी शेयरको लिलामी खुलेको छ ।
कम्पनीले यसअघि बिक्री गरेको हकप्रदका आवेदन नपरेको शेयरलाई लिलामीमार्फत् बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि जो कोही इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सकिने जनाइएको छ । आजदेखि असोज १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। संस्थापक समूहको शेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको शेयरमा न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यस अनुसार कम्पनीको संस्थाक बन्न चाहने व्यक्तिले कम्तीमा पनि १ अर्ब रुपैयाँ सो कम्पनीमा लगानी गर्नु पर्नेछ । साधारण शेयर खरिदका लागि भने न्यूनतम १० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन सकिन्छ ।



