images
images

यसपालि बैंकहरुले टारेनन् शेयरधनीको दशैं खर्च, साधारणसभा आह्वानको मिति घर्कियो


  • 1.8K
    SHARES
  • २०७८ आश्विन ७ गते बिहीबार

    यसपालि बैंकहरुले टारेनन् शेयरधनीको दशैं खर्च, साधारणसभा आह्वानको मिति घर्कियो

    काठमाडौं । यसपटक दशैंका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएका छन् । सञ्चालनमा रहेका सबै बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त संस्थाले समयभित्र साधारणसभा नबोलाएपछि बैंकको लाभांशबाट शेयरधनीले दशैं मान्न नपाउने भएका हुन् । सूचीकृत कम्पनीमध्ये केही हाइड्रोपावर कम्पनीले मात्रै यस्तो लाभांश दिनसक्ने भएका छन् । 

    नेपाल राष्ट्र बैंकको नियमनमा रहने कुनै पनि सूचीकृत बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म साधारणसभा घोषणा गरेका छैनन् । साधारणसभा आह्वानका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण ती संस्थाहरु अहिले पनि प्रक्रियामै छन् । 

    बैैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सबैभन्दा पहिले राष्ट्र बैंकबाट स्वीकृत गर्नुपर्छ । स्वीकृत भएको प्रतिवेदनका आधारमा मात्रै बैंकहरुले लाभांश घोषणा गर्न पाउँछन् । करिब १ दर्जन कम्पनीहरु लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका आएको राष्ट्र बैंकले जनाएको छ । त्यसमध्ये ३ बैंकको मात्रै लेखापरीक्षण प्रतिवेदनलाई अन्तिम स्वीकृति दिइएको छ । 

    राष्ट्र बैंकको स्वीकृतिसँगै माछापुच्छ्रे बैंक र सानिमा बैंकले यो वर्ष दिने लाभांश प्रस्ताव समेत गरिसकेका छन् । माछापुच्छ्रे बैंकले १३.५ प्रतिशत र सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेका हुन् । यद्यपि उनीहरुले प्रस्ताव गरेको लाभांश फेरि राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्ने भएका कारण उनीहरुले समेत साधारणसभा घोषणा गरेका छैनन् । 

    कम्पनी ऐनको प्रावधान अनुसार पब्लिक कम्पनीले वार्षिक साधारणसभा हुनुभन्दा २१ दिन अघि नै साधारणसभा आह्वान गर्नुपर्छ । तर, अहिलेसम्म साधारणसभा नबोलाएका बैंकहरुले सो समय दिएर अब दशैंअघि साधारणसभा बोलाउन सम्भव छैन । 

    त्यसो त, स्रोतको अभाव झेल्न थालेका बैंक तथा वित्तीय संस्थाहरुले यो वर्ष नगद लाभांशलाई भन्दा बोनस शेयरलाई नै बढी महत्व दिइरहेको समेत देखिन्छ । माछापुच्छ्रे र सानिमाको लाभांश प्रस्तावले यो वर्ष बैंकहरु बोनस शेयरमै बढी केन्द्रित हुनसक्ने अवस्थालाई देखाएको हो ।

    अघिल्लो वर्ष दशैं तुलनात्मक रुपमा ढिलो भएका वाणिज्य बैंकसहित धेरै कम्पनीले दशैं अघि नै शेयरधनीलाई लाभांश वितरण गरेका थिए । कोभिड महामारीका कारण अधिक लगानीयोग्य पुँजी भएका कारण राष्ट्र बैंकको अबरोधका बाबजुद नगद लाभांशमै ध्यान दिएका थिए । यो वर्ष भने अवस्था यसको ठीक उल्टो देखिएको छ । 


    images
    images

    Logo