काठमाडौं । सूर्यविनायक नगरपालिकाले १२ जना स्वास्थ्य स्वयंसेविकाको बिदाइ गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ६० वर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाले बुधबार बिदा गरेको हो ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक किरणकुमार थापाको अध्यक्षता एवं नगरपालिकाका नगरप्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उपप्रमुख जुना बस्नेत तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कँडेल सहभागी थिए । त्यस्तै, नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा प्रमुख अतिथि थापाले स्वयंसेविकालाई ४० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्वयंसेविकाले पाएको उक्त रकममध्ये संघीय सरकारका तर्फबाट २० हजार तथा नगरपालिकाका तर्फबाट जनही २० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाले स्वयंसेविकाको सम्मानमा शतप्रतिशत प्रोत्साहन रकम थप गरेको बताए । उनले अहोरात्र खटिने स्वयंसेविकाका लागि अझै धेरै सहयोग गर्ने इच्छा भए पनि स्रोतका कारण यो परिमाणमा मात्रै सहयोग गर्न सकेको उल्लेख गरे ।
कार्यक्रममा उपप्रमुख बस्नेत तथा प्रमुख प्रशासकीय अधिकृत कँडेलले स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको योगदानप्रति स्वास्थ्य स्वयंसेविकालाई धन्यावाद दिएका थिए । अहिले सूर्यविनायक नगरपालिकाका १० वडामा ७२ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्तप्रसाद चापागाइँले विगत ३० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको चर्चा गर्दै महिलाहरु घरबाहिर निस्किँन हिच्किचाउने समयदेखि स्वास्थ्य स्वयंसेविकाको झोला बोकेर हिँड्न सक्नु पनि गर्वको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा बिदा हुन लागेका स्वास्थ्य स्वयंसेविकाले आफूहरुले आफ्नो क्षमताले भ्याएसम्मको स्वयंसेवा गरेको भन्दै नगरपालिकाले सम्मानसहित गरेको बिदाइले आफूहरु निकै खुसी भएको बताएका थिए ।



