काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदयराज खतिवडाको राजीनामा मागेका छन् । विभिन्न माग राख्दै करिब डेढ महिनादेखि धर्नामा बस्दै आएका कर्मचारीले आफ्नो माग सुनुवाई नभएको भन्दै संस्थाको केन्द्रीय कार्यालयमा नाराबाजी समेत गरेका छन् ।
स्वावलम्बन बैंक कर्मचारी संगठनले यसअघि २०७७ चैतमै विभिन्न माग राख्दै व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएको थियो । सो माग पूरा गर्न पटकपटक ताकेता गरेको संगठनको माग पूरा नभएपछि यही साउन २४ गतेदेखि संगठनले शान्तिपूर्ण धर्नामा बसेको थियो । तर, ४३ दिनसम्म पनि माग पूरा नभएपछि आफूहरु नाराबाजीमा उत्रिन र सीईओको राजीनामा माग्न बाध्य भएको अध्यक्ष पूर्णचन्द्रराज अवस्थीले बताए ।
‘हामीले शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राखेका हौं, माग पूरा गर्न करिब ६ महिना कुर्यौं’ संगठनका अध्यक्ष अवस्थीले भने, ‘आन्दोलन सुरु भएपछि पनि डेढ महिनासम्म शान्तिपूर्ण धर्ना बस्यौं, तर मागको सुनुवाई भएन, अब सशक्त आन्दोलन गर्छौं ।’
उनले यसअघि केन्द्रीय कार्यालयमा मात्रै रहेको आन्दोलनलाई अब देशभरका शाखा कार्यालयसम्म पुर्याउने बताउँदै माग पूरा नभई आफूहरु पछि नहट्ने उल्लेख गरे । लघुवित्तले संस्थाभित्र ट्रेड युनियनको गतिविधि गर्न बन्देज लगाएको, नियामकीय निकायको मध्यस्ततामा विगतमा भएका सहमति कार्यान्वयन नगरेको, ओभरटाइम सुविधा नदिएको जस्ता आरोप लगाएका छन् ।
दैनिक ज्यालादारी कर्मचारीलाई सरकारले तोकेको भन्दा कम पारिश्रमिक दिएको, कोभिड संक्रमित कर्मचारीको उपचार खर्च नव्यहोरेको, कर्मचारी समायोजन तथा तह तथा ग्रेड वृद्धिमा भेदभाव गरेको समेत उनीहरुको आरोप छ ।



