काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विरुद्ध केवल टेलिभिजन व्यवसायी पनि आन्दोलनमा उत्रिने भएका छन् ।
केवल टेलिभिजन सञ्चालनमा राज्यले बेलाबखत अंगिकार गर्ने अस्थिर नीतिको कारण व्यवसाय नै बन्द हुने स्थिति आएको भन्दै विद्युत् प्राधिकरणविरुद्ध केवल व्यवसायी आन्दोलनमा उत्रिन लागेका हुन् ।
हालै मात्र नेपाल विद्युत् प्राधिकरणले असोज १५ गतेदेखि लागु हुनेगरी केवल टेलिभिजन तथा इनटरनेट सेवा प्रदायकसँग आफ्नो पोल प्रयोग गरे वापत लिने शुल्क बढाएको थियो । व्यवसायीहरुले लागत र प्रतिफलको तथ्यपरक वैज्ञानिक अध्ययन अनुसन्धान नगरी नेपालको बजार, सरकारको नीति र उपभोक्ता हित विपरीत हुनेगरी ५ सय प्रतिशत सम्म शुल्क वृद्धि गरेको आरोप लगाएका छन् ।
त्यसरी शुल्क वृद्धि गर्दा सरोकारवालाहरुसँग छलफल नै नगरेको भन्दै उनीहरुले तोकिएको नयाँ शुल्क कायम गर्दा आफ्नो व्यवसाय नै धरासयी हुने दावी गरेका छन् ।
साथै आन्दोलन सम्बन्धी थप कार्यक्रम गर्न व्यवसायीहरुले असोज १३ गते राष्ट्रिय भेला बोलाएका छन् ।



