काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को एघार महिना (साउनदेखि जेठ) सम्ममा १३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणमा यस्ताे स्थिति देखाएको हो ।
१८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । जेठ एक महिनामा मात्रै एक खर्ब २८ अर्ब ९० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो वैशाखमा भित्रिएकोभन्दा करिब १३ अर्ब रूपैयाँले धेरै हो ।
वैशाखमा मासिक एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएकोमा जेठमा एक खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । वार्षिक आधारमा भने १९.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०७९/८० को एघार महिनासम्ममा ११ खर्ब १२ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
यो एघार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ५ प्रतिशतले घटेको छ । चालु आवको यो अवधिमा भने ६ लाख ८५ हजारले नयाँ र पुन श्रम स्वीकृति लिएका छन् ।
गत वर्षको एघार महिनामा यस्तो स्वीकृति लिनेको संख्या ७ लाख १९ हजार थियो ।



