काठमाडौं । अवैध लागूऔषध गाँजा र ४० किलो चाँदी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट । गौर नगरपालिका–४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका–२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त धातु फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई बरामद धातु सहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको छ ।
अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा तामाकोशी गाउँपालिका५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका–१० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङलाई करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।



