काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साढे ३ करोड कित्ता भन्दा बढी शेयरको लिलामी खुल्ने भएको छ । बिहीबारदेखि कम्पनीको संस्थापक र साधारण शेयरतर्फ उक्त परिमाणमा शेयर लिलामी हुन लागेको हो ।
एचआईडीसीएलले यसअघि १ः१ बराबर हुनेगरी हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा आवेदन नपरेका शेयरका लागि कम्पनीले लिलामीमार्फत् बिक्री गर्न लागेको हो । संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता र साधारण शेयरतर्फ ३२ लाख २९ हजार ७ सय २४ कित्ता समेत गरी कुल ३ करोड ६२ लाख कित्ता शेयर लिलामी बोलकबोलमार्फत् बिक्री हुनेछ ।
संस्थापक समूहअन्तर्गतको शेयरका लागि न्यूनतम १ करोड कित्ता र साधारण शेयरका लागि न्युनतम १ सय कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सो शेयर खरिदका लागि ग्लोबल आईएमई क्यापिटल वा ग्लोबल आईएमई बैंकका तोकिएका शाखामा गई आफूले लिन चाहेको शेयर र कबोल गर्न चाहेको मूल्यले हुन आउने सबै रकम क्यापिटलको खातामा जम्मा गरी सक्कल भौचरसमेत सिलबन्दी गरेर फारामको साथमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र पेश गर्न १४ गतेलाई अन्तिम मिति तोकिएको छ ।
कतिमा गर्ने आवेदन ?
संस्थापक शेयरका लागि न्यूनतम आवेदन नै १ करोड कित्ता भएकोले यसमा जोकोहीले आवेदन दिनसक्ने क्षमता राख्दैन । ठूला लगानीकर्ता वा संस्थागत लगानीकर्ता मात्रै यो आवेदनका लागि सक्षम हुन्छन् ।
संस्थापक शेयरका आवेदकले मूल्य कबोल गर्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई बढी ध्यान दिन्छन् । झन्डै १८ अर्ब चुक्ता पुँजी भएको एचआईडीसीएलको गत असार मसान्तको नेटवर्थ १ सय १० रुपैयाँ थियो । सो मूल्यमा केही प्रिमियम थप गरेर कबोल गर्नेले यो कम्पनीको संस्थापक शेयर हात पार्नसक्ने सम्भावना छ ।
साधारण शेयरको मूल्य दोस्रो बजारको अन्तिम कारोबार मूल्यले प्रभाव पार्छ । अहिले सो शेयरको बजारमूल्य ३ सय ७२ रुपैयाँ छ । बजारको घटबढसँगै यो मूल्य घटबढ हुन सक्छ । आजेदन दिने अन्तिम दिनसम्म यो मूल्यमा हुने उतारचढावले लिलामीको कटअफ मूल्यमा प्रभाव पार्न सक्छ । यद्यपि बजारमूल्यबाट १० देखि १५ प्रतिशत तलसम्म कबोल गर्नेले शेयर प्राप्त गर्नसक्ने अवस्था विगतको नजीरबाट देखिन्छ ।



