काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाबाट पारित भएको बजेटले निजी क्षेत्रको अधिकांश मागलाई सम्बोधन गरेको जनाएको छ । केही दिन अन्यौलता रहे पनि पारित भएको बजेटले अब अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने भन्दै महासंघले सरकारलाई धन्यवाद दिएको छ । सरकारले भदौ २५ गते संसदमा प्रस्तुत गरेको उक्त विधेयक सोमबार प्रतिजिधिसभाले पारित गरेको थियो ।
बजेटले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गरि विद्यमान बहुुआयामिक गरिवी न्यूनिकरण गर्ने मुुख्य उद्देश्य बजेटको लिएको महासंघको भनाइ छ । निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकको रुपमा परिभाषित गर्दै अनुकुल व्यवसायिक वातावरण सिर्जना गरिने कुराले निजी क्षेत्र उत्साहित भएको समेत महासंघले उल्लेख गरेको छ ।
करको दर भन्दा दायरा बढाउन प्रतिस्थापन बजेटको प्राथमिकता दिएको भन्दै महासंघले यसको स्वागत समेत गरेको छ । निरन्तर बढिरहेको ब्यापार घाटालाई क्रमशः घटाउदै बैदेशिक व्यापार सन्तुलन गर्न तीन महिना भित्र योजना तयार गरिने उल्लेख हुनु सकारात्मक रहेको समेत महासंघले उल्लेख गरेको छ ।
यसैगरी कोभिडबाट सबैभन्दा बढी प्रभावित साना उद्यम एवं पर्यटन क्षेत्रलाई तत्काल तङग्रने कार्यमा थप गृहकार्य गर्न आवश्यक रहेको भन्दै महासंले त्यस्ता उद्यमलाई परियोजनाका आधारमा कर्जा उपलब्ध गराउने सम्भावना सहित महासंघले अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको जनाएको छ ।
राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडक मार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा तीन सयजनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र पचास प्रतिशत भन्दा बढी स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा २०८० चैत्र मसान्तसम्म गरिएको लगानीको स्रोत नखोजिने व्यवस्था गरिएको छ ।
यसले अनौपचारिक क्षेत्रमा रहेको पूजीलाई औपचारिक क्षेत्रमा प्रवाह हुने वातावरण निर्माण भई अर्थतन्त्रमा उत्पादन र रोजगारी वृद्धि हुने विश्वास महासंघले व्यक्त गरेको छ ।



