images
images

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


  • 270
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    लहान । श्रीमानको  हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । 

    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

    भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए  ।
     
    श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ । महरा दम्पतीको चार छोराछोरी छन् । वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए ।

    श्रीमान्ले मदिराच सेवन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै कुटपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।   

     


    images
    images

    Logo