images
images

शेयर बजारका १८१ कम्पनी वर्गविहीन, बजारको आक्रोश थेग्न नेप्सेको यस्तो चलाखी


  • 695
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    शेयर बजारका १८१ कम्पनी वर्गविहीन, बजारको आक्रोश थेग्न नेप्सेको यस्तो चलाखी

    काठमाडौं । दोस्रो बजारमा सूचीकृत भई कारोबार गर्ने १ सय ८१ कम्पनी वर्गबिहीन भएका छन् । वर्गीकरणका लागि नेप्सेले दिएको समयभित्र वर्गीकरणका लागि आवेदन नदिएका ती कम्पनीहरु नेप्सेको कुनै पनि समूहमा नपरेका हुन् । 

    नेप्सेले साउन २९ गते सार्वजनिक सूचना जारी गरेर सूचीकृत कम्पनीलाई वर्गीकरणका लागि आधारसहित आवेदन दिन सूचना जारी गरेको थियो । तर, सो अवधिमा ६ वटा कम्पनीले मात्रै वर्गीकरणका लागि आवेदन दिएका थिए । अहिले बजारमा १ सय ८७ कम्पनी सूचीकृत छन् । त्यसमध्ये ६ कम्पनी मात्रै वर्गीकरणमा पर्दा बाँकी १ सय ८१ कम्पनी वर्गविहीन भएका हुन् ।

    त्यसरी आवेदन दिने कम्पनीहरुमा प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक, गुडबिल फाइनान्स र गीन डेभलपमेन्ट बैंक रहेका छन् । त्यसमध्ये प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, मुक्तिनाथलाई क्लास–ए मा वर्गीकरण गरिएको छ । गुडबिल फाइनान्सलाई  क्लास–बी मा वर्गीकरण गरिएको छ भने ग्रीन डेभलपमेन्ट बैंकलाई क्लास–जेड मा वर्गीकरण गरिएको छ । 

    अघिल्लो वर्ष कम्पनीले वर्गीकरणका लागि आवेदन नदिएका सबै कम्पनीलाई क्लास–जेड मा राखेर वर्गीकरण गर्ने गरेको थियो । तर यसपटक आवेदन दिएका कम्पनीलाई मात्रै वर्गीकरण गरेको छ । अघिल्लो वर्ष जस्तै धेरै कम्पनी सबैभन्दा कमजोर समूहमा राख्दा यसले बजारमा नकारात्मक असर पर्न सक्ने र यसले घट्दो बजारमा नेप्सेप्रति लगानीकर्ताको आक्रोश बढाउनसक्ने भएकोले ती कम्पनीलाई वर्गीकरण नगरिएको नेप्सेका एक अधिकारीले बताए ।

    यद्यपि यो वर्गीकरणले बजार अरु केही प्रभाव भने पार्दैन । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सको गणनामा समेत यसको कुनै प्रभाव रहँदैन । 


    images
    images

    Logo