चरिकोट । दोलखा जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक थामि जातिको भाषा, संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ विमोचन गरिएको छ । पुस्तकलाई आइतबार चरिकोटमा विमोजन गरिएको हो ।
‘नानको आथाङ उलाम’ को अर्थ (अँध्यारोबाट उज्यालोतर्फ) हुन्छ । दोलखालाई उद्गम थलो बनाई जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक जातिका रुपमा सूचीकृत जनजातिमध्येको एक थामी जातिका विभिन्न भाषा, संस्कृति तथा कलाजस्ता विषय पुस्तकमा समावेश गरिएको छ ।
उक्त पुस्तक प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । पुस्तक विमोचन गर्दै पूर्वमन्त्री पार्वत गुरुङले यस पुस्तकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने थामी समुदायको संस्कृति तथा कला संरक्षणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । विभिन्न जातजातिको धर्म, संस्कृति तथा कला राज्यको सम्पत्ति भएको र ती कला, संस्कृति आधुनिकतासँगै विस्तारै लोप हुँदै जान थालेका हुँदा सबैले संरक्षणका लागि पहल चाल्नुपर्नेमा उहाँले जोड दिए।
थामी सङ्घ नेपालका केन्द्रीय महासचिव तथा पुस्तकका सम्पादक लक्ष्मण थामीले राज्यको स्रोतसाधनमा पहुँच कम भएको थामी समुदायलाई समेटेर सार्वजनिक गरिएको पुस्तकले अन्य समुदायलाई समेत सहयोग पुग्ने बताए। आधुनिकतासँगै भाषा र संस्कृति हराउँदै गएको र पछिल्लो पुस्ताले भुल्दै जान थालेपछि थामीसम्बन्धी अध्ययनका लागि पछिल्लो पुस्ता तथा अन्य व्यक्तिलाई समेत पुस्तकले सहयोग पुग्ने गरी प्रकाशन गरिएको उनले जानकारी दिए।



