काठमाडौं । संघीय सरकारको बजेटविहीनता आजदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गर्ने कार्यसूची राखिएसँगै बजेट होलिडेको अवस्था अन्त्य हुन लागेको हो ।
आज बिहान ११ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक प्रस्तुत गरेको उक्त विधेयकमा मन्त्रालयगत बजेटको बारेमा छलफल हुने कार्यसूची छ । सो विधेयकका विरुद्धमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्न सक्छन् । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव राख्दैछन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अवरुद्ध गर्ने प्रयासमा रहेकोले उसले बजेटको समर्थन वा विरोध केही गरेको छैन ।
सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावउपर अर्थमन्त्रीले जवाफ दिएपछि ती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । आजै विनियोजन विधेयकलाई समेत निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाले विधेयक पारित गरेसँगै अहिले कायम रहेको बजेट होलिडे अन्त्य हुने बाटो खुल्नेछ ।
आजकै बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।



