काठमाडौं । मदिरा उत्पादक व्यवसायीहरुले देशभित्र अवैध मदिराको कारोबार हुने गरेको भन्दै यसलाई निरुत्साहित गर्नेगरी ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार राजधानीमा सुरु भएको संघको नवौं वार्षिकतोत्सवमा व्यवसायीहरुले मदिरा उत्पादन तथा वितरणको क्षेत्रमा विभिन्न विकृति रहेको र यसले आफूहरुको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न पुगेको भन्दै अनुगमन तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएका हुन् ।
राजधानीको सोल्टी होटलमा शनिबार सुरु भएको साधारणसभामा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल प्रमुख अथितिको रुपमा उपस्थित थिए । व्यवसायीहरुले ब्राण्ड नै नभएका लोकल मदिराको प्रयोग, विदेशी मदिराको अवैध आपूर्ति, नक्कली स्टिकरको प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण राज्यको राजश्वको बलियो स्रोत रहेको मदिरा उद्योग धरासायी बन्दै गएको गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रवी केसीले अहिले पानीको जारमा लोकल रक्सी राखेर बेच्ने प्रचलन रहेको भन्दै मदिरा व्यवसाय व्यवस्थित बनाउन घरेलु मदिराको जथाभाबी प्रयोगमा नियन्त्रण गर्न जरुरी रहेको बताए । अहिले नेपालमा उपभोग हुने कुल मदिराको ९० प्रतिशत र बियरमा ९५ प्रतिशत माग नेपाली उत्पादनको रहेको भन्दै यो क्षेत्रले सरकारको राजश्व र रोजगारीमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले यो क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र अवैध कारोबारलाई रोक्ने हो भने यसले सरकारी राजश्वमा वृद्धि गर्ने र यो क्षेत्र व्यवस्थित हुने समेत बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष वसन्त श्रेष्ठले अहिले मदिरा शब्ददेखि डराउनुपर्ने अवस्था भएको भन्दै यो क्षेत्रमा देखिएका विकृतिलाई सुधार गगर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको उल्लेख गरे ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले नेपालमा धेरै मदिरा उद्योगलाई लाइसेन्स दिएकोले सबैलाई व्यवस्थित गर्न नसकिएको स्वीकार गर्दै समस्या समाधानका लागि पहल गर्ने बताए ।
‘हामीले अहिले ९०÷९२ वटा उद्योगलाई लाइसेन्स दिएका छौं । धेरै उद्योगलाई लाइसेन्स दिँदा समस्या भएको हो । तर, लाइसेन्स दिएर कर लिएपछि सरकार सहजीकरण गर्ने कामबाट पछि हट्दैन,’ महानिर्देशक पौडेलले भने, ‘म सबै युनिटलाई भनेर समस्या समाधानमा पहल गर्छु ।’
उनले सुरुमा लाइसेन्स लिएका उद्योगले तुलनात्मक रुपमा बढी लाभ लिनसक्ने अवस्था संसारभरी नै रहेको भन्दै यसबाट लाभ लिन समेत उद्योगीहरुलाई सुझाव दिए । आन्तरिक राजश्व विभिागको महानिर्देशकको हैसियतले आफ्नो ध्यान राजश्व बढाउनेमा केन्द्रित हुने भन्दै उनले राजश्व वृद्धिको उद्देश्य पूरा गर्ने गरी व्यवसायीका मागमा सहजीकरण गर्न आफू तयार रहने उल्लेख गरे ।
नक्कली स्टिकर र अवैध कारोबारमा संलग्न मूल व्यक्ति कानूनी दायरामा कहिलै नआउने गरेका भन्दै उनले भने, ‘भरियालाई छोड्नुपर्छ, अवैध काम गर्ने मालिकलाई उम्किन दिनुहुन्न । अहिलेको समस्या मालिक पक्राउ नपर्ने हो, हामीले त्यतातिर पनि ध्यान केन्द्रित गरेका छौं ।’
शनिबार सुरु भएको संघको साधारणसभा आज सकिने कार्यक्रम छ ।




