काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा चार्डर्ड एकाउन्टेन्ट युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवर्द्धनको काम गर्दै आएको छ ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि शपथ लिएका थिए । कूल १७ सदस्यीय परिषद्मा हाल १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ ।
नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् । सदस्यमा चार्टर्ड एकाउन्टेन्टको तर्फबाट सन्तोष काफ्ले, क्षेत्र गोपाल प्रधान, सुजन कुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविण कुमार झा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए । आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ ।
चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए। यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागतरूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पु¥याउने उनको भनाइ थियो ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसयालई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले हामीले पनि यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवर्द्धन लगायत काम गरेको बताए ।



