जनकपुर। आफ्नै झन्डा अंकित रेल सञ्चालन गर्ने भन्दै एक वर्ष अघि ल्याइएको २ सेट रेल एक वर्ष वितिसक्दा पनि कामविहीन भएर बसेको छ । नेपाल रेल्वे कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर रेल सञ्चालन गर्न नसक्दा रेल सञ्चालनमा आउन नसकेको हो ।
भारत सरकारको सहयोग र निर्माणमा भारतको जयनगरदेखि नेपालको कुर्तासम्म ब्रोडगेज रेलवे निर्माण भएको थियो । कुर्थासम्म रेल आएपछि नेपालले भारतबाटै ८४ करोड रुपैयाँ तिरेर ब्रोडगेज रेल ल्याइएको थियो । अहिलेसम्म दुईवटै रेल त्रिपालमा छोपेर राखिएको छ । तर, रेल सञ्चालनको टुंगो भने लागेको छैन ।
यसअघि कोरोनाभाइरस महामारीलाई देखाएर रेल सञ्चालन गरिएको थिएन । महामारी कम भएर नेपाल भारत आवतजावत सहज भएपछि रेल सञ्चालन गर्ने कर्मचारीको अभावलाई देखाएर रेल सञ्चालनलाई पछि धकेलियो । अहिले भने रेलसम्बन्धी कानूनको अभावमा रेल सञ्चालनमा समस्या भइरहेको जिम्मेवार अधिकारीहरु बताउँछन् ।
त्यसो त, अहिलेसम्म रेलवेका लागि चाहिने जनशक्तिको भर्ना समेत भएको छैन । उता, भारतीय कम्पनीले निर्माण गरेको रेलवे नेपाललाई हस्तान्तरण नगरेसम्म नेपालले सञ्चालनमा ल्याउन समेत सक्दैन ।
त्यसो त अहिलेसम्म रेलको भाडादर कति हुने भन्ने तय समेत भएको छैन । झन्डै ३५ किलोमिटर रेलवेको लागि नेपाल रेल्वे कम्पनीले साधारणमा ७५ र विजनेस क्लासमा ३ सय रुपैयाँ भाडादर प्रस्ताव गरे पनि अहिलेसम्म स्वीकृत भएको छैन ।



