काठमाडौं । कोरोना महामारीको प्रभाव कम भएर जनजीवन सामान्य बन्दै गएपछि सरकारी राजश्व संकलनमा तीव्रता आएको छ । साउन महिनामा लक्ष्यभन्दा निकै उत्साहप्रद रुपमा राजश्व संकलन गरेको सरकारले भदौमा पनि त्यो उत्साह कायमै राखेको हो । राजश्व संकलनका प्रमुख दुई संघीय निकायहरु भन्सार विभाग र आन्तरिक राजश्व विभाग दुवैले यो अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् ।
आन्तरिक राजस्व विभागले भदौ महिनामा २७ अर्ब ५१ करोड राजस्व संकलन गरेको छ। यो महिनामा विभागले २४ अर्ब २८ करोड रुपैयाँ बराबरको मात्रै राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । अहिले उठेको राजश्य ३ अर्ब २३ करोडले बढी हो। साउन महिना भने लक्ष्यभन्दा झन्डै दोब्बर राजश्व संकलन भएको थियो । सो महिनामा ३४ अर्ब २४ करोड लक्ष्य रहेकोमा विभागले ७७ अर्ब ८५ करोड राजश्व संकलन गर्न सफल भएको थियो ।
उता भन्सार विभागले भदौ महिनामा ४१ अर्ब २३ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा ४६ अर्ब ३४ करोड संकलन गर्न सफल भएको छ । साउन महिनामा विभागले ४१ अर्ब १७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । योसहित २ महिनामा विभागले ८७ अर्ब ५१ करोड राजश्य उठाएको छ । यो लक्ष्यभन्दा १५ अर्ब ७१ करोड बढी संकलन भएको हो।
आन्तरिक राजश्व विभागले उठाएको कुल राजश्वमध्ये आयकर, अन्तशुल्क र स्वास्थ्य सेवा शुल्कमा लक्ष्यभन्दा धेरै छ । त्यस्तै, मूल्य अभिवृद्धि कर, घरभाडा कर, ब्याजकर, शिक्षा कर लगायतमा भने लक्ष्यभन्दा कम मात्रै राजश्व संकलन भएको छ ।



