काठमाडौं । राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन गरेर निजी क्षेत्रले राज्यलाई सहयोग गरेको जनाएको छ ।
विभागले आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा गोष्ठीका क्रममा विभागका महानिर्देशक रामप्रसाद आचार्यले यो निजी क्षेत्रको सहयोगले मात्रै विभागले कार्यान्वयन गरेको प्रणाली कार्यान्वयनमा जान सकेको भन्दै यो सहयोगप्रति निजी क्षेत्रप्रति सम्मान व्यक्त गरे । भीसीटीएस कार्यान्वयनमा आउँदा यसले प्रविधिमैत्री राजश्व प्रणाली निर्माणमा सहयोग पुर्याएको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई नै फाइदा पुगेको बताए ।
भीसीटीएस बाहेक विभागले राजश्व चुहावट र विदेशी विनिमय अपचलनसम्बन्धी कार्यको अनुसन्धान गर्ने गरेको भन्दै उनले यस्ता गतिविधिलाई हतोत्साहित गर्न विभागले सम्बन्धित निकायबीच समन्वय गरेर अनुसन्धानलाई प्रभावकारी बनाउँदै लगेको समेत जानकारी दिए । आगामी दिनमा विभागले गर्ने कामका बारेमा आचार्यले १७ बुँदे प्रतिवद्धता समेत प्रस्तुत गरे ।

मुख्यसचिव शंकरदास बैरागीको प्रमुख आथित्यमा भएको सो गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा विभागको त्रैमासिक अनुसन्धान बुलेटिन लोकार्पण गरिएको थियो । कार्यक्रममा मुख्यसचिव बैरागीले विभागको अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीज्यूले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गर्न निर्देशन दिए । उनले संघीय संरचना बमोजिम संगठन संरचनामा पुनरावलोकन गर्नुपर्ने र जोखिममा आधारित भई अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्री रामेश्वर दंगालले अदालतबाट भएको फैसला अध्ययन गरेर सोही बमोजिम विभागले अनुसन्धानको रणनीति अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहभागी निजि क्षेत्रका प्रतिनिधिहरु नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग वाणिज्य महासंघका कर समिति सह(सभापति सन्दिप कुमार अग्रवालको सहभागिता थियो । कार्यक्रममा विभाग अन्तर्गत रहेकर राजश्व अनुसन्धानको क्षेत्रमा उत्कृष्ठ काम गर्ने १० जना कर्मचारीलाई पुरष्कृत समेत गरिएको थियो ।



