काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी जुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको हो ।
सो प्रयोजनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भयो । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।



