काठमाडौँ । नेपाल सरकारले चाडपर्वको अवसर पारेर भोलिदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारले देशका विभिन्न स्थानमा साल्ट ट्रडिङ र खाद्य संस्थान मार्फत पसल सञ्चालन गर्ने भएको हो ।
चाडपर्वको अवसरमा सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । यो वर्ष पनि सरकारी स्वामीत्वमा रहेका संस्थानले असोज १ गतेदेखि कार्तिक २४ गतेसम्म पसल सञ्चालन गर्ने जनाएका छन् ।
सहुलियत पसलमा मोटा–मसिनो चामलमा प्रति के.जी. ५ रुपैँया, सिमी र फापरमा १० रुपैँया, नुन प्रति के.जी. २ रुपैँया, चिनी प्रति के.जी. ५ रुपैँया र खसी बोका प्रति के.जी. १० रुपैँया छुट हुने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुग्ध विकास संस्थानबाट बिक्री वितरण हुने दुध, पनिर, घ्यु तथा दुग्धजन्य पदार्थहरुमा पनि छुट पाइने जनाइएको छ । चाडपर्वको समयमा खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध नहुने समस्या यो वर्ष नहुने मन्त्रालयको सहायक प्रवक्ता उर्मिला के.शी. ले बताइन् । यसको लागि मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको उनले बताइन् ।
सहुलियत पसल सञ्चालनका लागि सरकारले बार्षिक बजेट छुट्याउने गरेको छ । यो वर्ष साल्ट ट्रेडिङलाई १ करोड ५० लाख रुपैँया र खाद्य संस्थानलाई १ करोड ७५ लाख रुपैँया सरकारले विनियोजन गरेको छ । सो रकमबाट पसलहरुले छुट दिने मन्त्रालयले जनाएको छ ।
कहाँ कहाँ हुन्छ पसल सञ्चालन
देशभरमा रहेका खाद्य संस्थान र साल्ट ट्रेडिङका कार्यालयबाट सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा साल्ट ट्रेडिङमार्फत कालिमाटीमा २ ठाउँ, कोटेश्वर, टेकु, सिंहदरबार,सतुङगल, ललितपुर र भक्तपुरमा पसल सञ्चालन हुनेछ । उपत्यका बाहिर रहेका साल्ट ट्रेडिङका २४ ओटा कार्यालय मार्फत पसल सञ्चालन हुनेछ ।
त्यस्तै, खाद्य संस्थानको देश भरका डिपो तथा कार्यालयबाट पसल सञ्चालन हुनेछ । संस्थानको ३९ जिल्लामा कार्यालय रहेको छ । ती जिल्लामा रहेका ४३ ओटा कार्यालय मार्फत पसल सञ्चालन हुने सहप्रवक्त के.शी.ले बताइन् ।



