काठमाडौं । कर्मचारी सञ्चय कोषले एकैवर्ष १३ अर्ब रुपैयाँ बचत वृद्धि गरेको छ । कोषले जगेडा तथा बचतको आकारलाई बढाएर ४० अर्ब १६ करोड पुर्याएको हो । अघिल्लो वर्ष यस्तो बचत २७ अर्ब १७ करोड रुपैयाँ मात्रै थियो ।
बचतसँगै कोषको कुल आकार साढे ४ खर्ब रुपैयाँ नजिक पुगेको छ । असार मसान्तमा कोषको कुल कोष तथा जगेडाको आकार ४ खर्ब ४४ अर्ब पुगेको हो । अघिल्लो वर्ष यस्तो आकार ३ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै थियो ।
कोषसँग भएको कुल रकममध्ये सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब तथा निवृत्तिभरण कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
साढे ४ खर्बको कुल कोषमध्ये कोषले सञ्चयकर्तामा मात्रै २ खर्ब रुपैयाँ लगानी गरेको छ । केषसँग बैंक तथा वित्तीय संस्थामा १ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने विभिन्न परियोजनामा झन्डै ६८ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले विभिन्न कम्पनीको शेयर, डिबेञ्चर लगायत धितोपत्रमा ३५ अर्ब रुपैयाँ लगानी गरेको छ ।

*यसअघि प्रकाशित समाचारको शीर्षकमा अर्ब हुनुपर्नेमा भुलवश करोड हुन गएकोमा सच्याइएको छ ।



