काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार चार दिने नेपाल भ्रमण सकेर आइतबार साँझ फर्किइन् । उनीसँगै आएका भ्रमण दलका अन्य सदस्य पनि फर्के ।
हाम्रो सहयोग लेउ भन्दै दबाब दिन सहयोगी संस्थाको उपाध्यक्ष अमेरिकाबाट नेपाल आउनु आफैंमा शंकास्पद छ । तर पनि एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आइन् र घर–घर गएर शीर्ष र सरकारी नेताहरुलाई भेटेर दबाब मुलक प्रश्न र अनुरोध गरिन् ।
नेपाल आएपछि उपाध्यक्ष फतिमाले सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिन् । ओलीबाट सुरु भएको उनको भ्रमण माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, प्रधानमन्त्री, अर्थ र उर्जा जलस्रोत तथा सिँचाईमन्त्रीको भेटपछि सकिएको थियो ।
एमसीसी परियोजनामा ४०० केभी क्षमताको ३१२ किलोमिटर लामो प्रसारणलाइन एवं तीन उच्च क्षमतायुक्त सवस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना रहेका छन् । त्यसैगरी ७७ किलोमिटर रणनीतिक सडकको मर्मत सम्भारका विषय समावेश गरिएका छन् । यसका लागि अमेरिकाबाट करिब ५० अर्ब रुपैयाँ सहयोग प्राप्त हुनेछ ।
फतिमालाई कसले के भने ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको भनाइ उस्तै यस्तै नै आयो । उनीहरु तीनैजनाको भनाईको अर्थ राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्ने भन्ने लाग्थ्यो ।
फतिमा नेपाल रहेकै बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा भाषण नै गरे । ‘यीनै शर्तका आधारमा एमसीसी पास हुँदैन ’– अध्यक्ष नेपालको भनाइ थियो । आफ्ना नजिकका नेता तथा कार्यकर्तालाई प्रचण्ड र यादवले समेत नेपालकै लाइनमा आफ्नो धारणा राख्ने गरेको स्रोत बताउँछ ।
सरकारी ओहोदामा विराजमानहरुको भनाइ पनि राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्ने भन्नेमा नै केन्द्रित थियो । खासगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले अलि बढी आश्वस्त पार्न खाजेको स्रोतको दावी छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उपाध्यक्ष फतिमालाई केही बुँदाहरुमा विवाद रहेको सुनाएका थिए ।
एमालेको धारणा भने केही फरक छ । ऊ एमसीसीमा सरकारलाई कसरी फसाउन सकिन्छ भन्ने गौंडा कुरेर बसेको बुझ्न गाह्रो छैन । अध्यक्ष ओली प्रधानमन्त्री भएकाबेला एमसीसी जस्ताको त्यस्तै पारित गर्ने पक्षमा रहेको कसैबाट छुपेको छैन । तर, सरकारबाट हट्ने बित्तिकै उनी फरक भएका छन् । संसदीय दलको बैठकमा उनले भनेका थिए –‘सरकारले पहिला संसदमा टेबल गरोस् अनि हामी निर्णय गरौंला ।’
ओलीले आफ्ना सांसदहरुलाई मात्र होइन एमसीसी उपाध्यक्ष फतिमालाई समेत यही भने । तर फतिमासँग उनले कुटनीतिक मर्यादा उल्लंघन गर्दै सभामुखको विरुद्धमा पोल लगाए । ‘म सरकारमा रहँदा सुरुमा सभामुखले संसदमा टेबल गर्न नै मानेनन् । पछि देशी विदेशी लागे’ – ओलीको भनाइ थियो ।
आफ्नो देशको सभामुखले मानेनन् भनेर एउटा विदेशीलाई सुनाउनु कुटनीतिक मर्यादा भित्र कदापि पर्दैन । परराष्ट्र सल्लाहकार राजन भट्टराईले मिडियाको माझ उभिएर गौरवका साथ ओलीका भनाई उद्धृत गरेको कुरा आफैंमा लज्जाजनक थियो । सरकारमा रहँदा र नरहँदाको डबल स्ट्यान्डर्ड प्रदर्शन हुनुले सही सन्देश पक्कै प्रवाह गरेन ।
फतिमाले बोकेर फर्केको विश्वास
भ्रमण सकेर फर्केपछि नेपालस्थित अमेरिकी दूतावासले एउटा विज्ञप्ती नै जारी गरेको छ । दूतावासले फातिमाको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो भ्रमणको दौरानमा एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले म उत्साहित भएकी छु । एमसीसीका सम्बन्धमा रहेका गलत धारणा र प्रश्नहरुलाई स्पष्ट पार्न हामी सफल भएका छौं ।’
फतिमाको यस्तो आत्मविश्वासलाई अर्थपूर्ण हिसाबमा हेरिएको छ ।
फतिमाले भेटेका नेताहरु (एमाले बाहेक)को लगभग एउटै भनाइ सार्वजनिक भयो, ‘राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्ने ।’ वर्तमान अवस्थालाई मिहिन ढंगले नियाल्ने हो भने राष्ट्रिय सहमति जुटिहाल्ने अवस्था छैन ।
एमसीसीप्रति नेपालीहरुको नकारात्मक धारणा स्थापित भइसकेको हुनाले यसलाई जस्ताको त्यस्तै पास गर्न नेताहरु डराएका छन् । त्यो डर एमसीसीका केही बुँदा संशोधन नभएसम्म कायम रहनेछ । तर, एमसीसी संशोधन नहुने विषय प्रष्टसँग आइसकेको छ ।
यति हुँदा हुँदैपनि एमसीसीका उपाध्यक्ष फतिमा सुमार ढुक्क भएर फर्किनुको रहस्य के हो ? उनलाई आश्वस्त पार्ने विषय के–के हुन् । र, उनलाई एमसीसी पास हुन्छ भनेर आश्वस्त पार्ने हाम्रा नेताहरु को को हुन् ? समयले यसको जवाफ फुकाउँदै जाला ।
तर, फतिमाको आत्मविश्वासको अर्थ नेपालमा भने शंकाकै नजरले हेरिएको छ ।



