काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । सडक दुर्घटना लगायत विभिन्न दुर्घटनामा परि ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा।११ च ५२१० नंम्बरको सफारी गाडी सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ बस्ने ४० वर्षीय पृथ्वी बहादुर श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ । घाइते भएका चालक सहित ९ जनामध्ये ५ जनालाई उदयपुरको घुर्मिस्थित जनसेवा हेल्थकेयर हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
चितवन, भरतपुर महानगरपालिका–९ बिंडीचोकस्थित सडकमा ना । ६ त ११२७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री भरतपुर बस्ने सप्तरी घर भएका ५५ वर्षीय कमल चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, बेसिशहर नगरपालिका–८ भिमसेनथानस्थित सडकमा ग।१२ प १७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राजेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर २ जनाको मृत्यु
दाङ । दंगिशरण गाउँपालिका(३ रावतगाँउस्थित बबई नदीमा डुबेर सोही बाँके राप्ती गाउँपालिका–८ पिपिरी बस्ने १८ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । रावत गाउँ बस्ने साथी बिशाल चौधरीको घरमा आएका उनी बिशाल सहित ४ र ५ जना उक्त नदीमा नुहाउने क्रममा डुबेर आशिषको मृत्यु भएको बताइएको छ ।
रौतहट, यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने बिन्दा साहकी छोरी १२ वर्षीया विनिता साहको सोही ठाउँस्थित झाँझ खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग उक्त खोलामा नुहाउने क्रममा विनिता शाह डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकि बडहर्वाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मोरङ । रंगेली नगरपालिका–४ आमतोलास्थित खेतको आलीमा धनपालथान गाउँपालिका–३ बस्ने ५५ वर्षीय गणेश मुर्मु आइतबार मृत अवस्थामा फेला परेको छन् ।
प्युठान, झिमरुक गाउँपालिका(७ तुसारास्थित भित्री बाटोमा सोही गाउँपालिका–६ कुटिचौर बस्ने ३३ वर्षीय पदम पोख्रेल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
महोत्तरी । गौशाला नगरपालिका १० बटौवा बस्ने राम अबतार यादवकी छोरी १७ वर्षीया सुन्दर कुमारी यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । उनका मामा सोनमा गाउँपालिका १ सोनमा गाँउ बस्ने संजित राय यादवको घरमा घर सफा गर्ने क्रममा मिटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



