images
images

पहिराको कारण कोशी राजमार्ग एक सातादेखि अवरुद्ध


  • 292
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    पहिराको कारण कोशी राजमार्ग एक सातादेखि अवरुद्ध

    किमाथाङका । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

    पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।

    अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले पहिरो हटाउन मकालु–३  हाइटार नजिकै तीनवटा स्काभेटर लगेका छौँ, तर पहिरो खस्ने क्रम नरोकिएको कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन ।” 

    सडक अवरुद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उनले बताए । सडकखण्ड अवरुद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् । 


    images
    images

    Logo