images
images

अधिक तरलता र घट्दो ब्याजदरले आर्थिक गतिविधि चलायमान हुने आधार बनेको छ : गभर्नर अधिकारी


  • 405
    SHARES
  • २०८१ बैशाख १४ गते शुक्रबार

    अधिक तरलता र घट्दो ब्याजदरले आर्थिक गतिविधि चलायमान हुने आधार बनेको छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताएका छन् ।

    नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तरस्थिति बचतमा गएको बताएका छन् । जसले तरलता बढाउन सहयोग पुगेको र कर्जाको ब्याजदर घटाएको उनको भनाइ छ ।

    वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको उनको भनाइ छ । उनले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको उनको बुझाइ छ । समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलता आएको उनले बताए ।

    यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न केन्द्रीय बैंक सफल भएको गभर्नर अधिकारीको दावी छ । केन्द्रीय बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियम सङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् समय सापेक्ष बनाउने काम पनि निरन्तर रूपमा गरेको जानकारी उनले दिए ।

    थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको उनको भनाइ छ ।

    चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमा अर्थात ७ प्रतिशत भन्दा तलनै रहने उनको अनुमान छ । रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम भने कायमै रहेको उनले बताए ।

    आर्थिक वर्ष २०८०र८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने उनको अनुमान छ । करिब ६०० मेगावाट थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनले बताए । सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको उनको तर्क छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएको उनले बताए ।

    आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा परेपछि निष्क्रिय कर्जा अनुपात केही बढेको उनले बताए । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको बताउदै उनले भने,“२०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको  २८.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।”

     

     

     

     


    images
    images

    Logo