images
images

राष्ट्रिय वाणिज्य बैंकमा पनि कर्मचारीको आन्दोलन सुरु, १५ बुँदे माग राख्दै फियनले थाल्यो धर्ना


  • 1.8K
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    राष्ट्रिय वाणिज्य बैंकमा पनि कर्मचारीको आन्दोलन सुरु, १५ बुँदे माग राख्दै फियनले थाल्यो धर्ना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा पनि कर्मचारीको आन्दोलन सुरु भएको छ । नेपाल वायुसेवा निगम, नेपाल टेलिकम, नेपाल नागरिक उड्डयन प्राधिरण लगायत निकायपछि सरकारी स्वामित्वको अर्को संस्थानमा पनि कर्मचारीको आन्दोलन सुरु भएको हो । 

    नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय वाणिज्य बैंकले विभिन्न १५ बुँदे माग राख्दै आइतबारदेखि बैंकको केन्द्रीय कार्यालयस्थित प्रमुख कार्यकारी अधिकृतको कक्षमा धर्ना सुरु गरेको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दैनिक रुपमा धर्ना दिएर कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । आफ्ना मागहरु सुनुवाई नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

    के के छ कर्मचारीको माग ? 

    fieun-rbb.jpg

    कर्मचारीहरुले खासगरी बैंकभित्र सरुवा तथा बढुवा प्रक्रिया पारदर्शी नभएको, शाखाको वर्गीकरण व्यवस्थित नभएको, कर्मचारीलाई उच्प्रेरित गर्ने खालका कार्यक्रमहरु नआएको, करार कार्यविधि विपरित करार सेवामा अनावश्यक कर्मचारीहरु भर्ना गरिएको, संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी खर्चहरु पारदर्शी नभएको तथा प्रभावकारी रुपमा संस्थाको लक्ष्य निर्धारण गर्न नसेकेको आरोप व्यवस्थापनमाथि लगाएका छन् । 

    सोही विषयलाई सच्याउनुपर्ने माग गर्दै आइतबार संघले प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो । तर, सो पत्रको वास्ता नगरेको भन्दै आफूहरु धर्नामा बस्नु परेको फियन राष्ट्रिय वाणिज्य बैंकका वरिष्ठ उपाध्यक्ष इश्वर बहादुर सिंहले बताए । 

    १५ बुँदे माग भने पनि खासमा कर्मचारीहरुको असहमति चाहिँ कर्मचारीको सरुवा, बढुवा, सीएसआरको खर्च र विज्ञापन खर्चमा छ । अहिलेको नेतृत्वले कर्मचारीको गैरन्यायिक सरुवा गरेको आरोप फियनको छ । 

    ‘अहिलेको सरुवा न्यायिक छैन । सरुवा गर्दा भौगोलिक सन्तुलन मिलाउनुपर्छ । तर यहाँ जुम्लाको मान्छेलाई हुम्ला सार्ने काम गरिएको छ । शहरको मान्छेलाई शहरमै राख्ने र दुर्गमको कर्मचारीलाई शहरमा आउनै नदिने अवस्था बनाइएको छ,’ वरिष्ठ उपाध्यक्ष सिंह भन्छन्, ‘कतिपय कर्मचारी त आत्महत्या गर्ने अवस्थासम्म पुगेका छन् । हामी यही प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिएका हौं ।’ कर्मचारीहरुले अहिले शाखाहरुलाई विभिन्न वर्गमा छुट्याएर त्यही अनुसार कर्मचारीहरुको सरुवा गर्नुपर्ने माग समेत राखेको छ ।

    उता संस्थागत सामाजिक उत्तरदायित्वको रकमको खर्चमा समेत पारदर्शीता नभएको आरोप कर्मचारीहरुको छ । यस्तो रकम खर्च गर्दा भुगोल र क्षेत्रलाई विचार गर्नुपर्ने व्यवस्था रहे पनि नेतृत्वले यसमा आफूखुसी गरेको उनीहरुको भनाइ छ ।

    त्यस्तै, संस्थाबाट प्रवद्र्धनात्मक तथा विज्ञापन कार्यक्रमका लागि खर्च हुने रकममा पनि पारदर्शिता नभएको आरोप कर्मचारीको छ ।

    RBB-Aandolan.jpg

    सीईओ हटाउन चाहेका होइनौं, तर सुध्रनुपर्छ

    यसका बाबजुद संघले बैंकका सीईओलाई हटाउने मनशायले भने आन्दोलन नगरेको प्रष्टोक्ति दिएको छ । ‘सरकार परिवर्तन भएको बेला हाम्रो आन्दोलन सुरु पनि भयो । यो एउटा संयोग मात्रै हो । तर कतिपयले सीईओलाई हटाउन आन्दोलन गरेको भन्ने पनि गरेका छन्,’ सिंह भन्छन्, ‘तर हाम्रौ यस्तो कुनै मनशाय छैन । संस्थाभित्र भएका गलत प्रवृत्तिविरुद्ध मात्रै हाम्रो आन्दोलन हो, नेतृत्वविरुद्ध होइन ।’


    images
    images

    Logo