काठमाडौं । आगामी वर्षको वैशाख पहिलो साताबाट मनाङमा यार्सा सङ्कलन गर्न अनुमति दिइने भएको छ । विकट गाउँपालिका नार्पाभूमिको नार र फूबाहेक अन्य स्थानमा मनाङी लगायत अन्य जिल्लावासीका लागि समेत अनुमति दिने गरी तयारी गरिएको हो ।
मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपर्युक्त सिजनका रुपमा लिइन्छ । यार्सा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्यखर्कमा गोरखाका ७ जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि मनाङको साविकको नार र फू गाउँ विकास समितिमा यार्सा सङ्कलन रोकिएको थियो ।
यार्सा सङ्कलनका लागि ३५ हजार शुल्क तोकिएको छ । नार्पाभूमि गाउँपालिकामा जेठ दोस्रो हप्ताबाट मात्रै यार्सा संकलन हुनेछ भने जिल्लाका अन्य स्थानमा भने वैशाखको पहिलो साताबाट नै संकलनका लागि खुला गरिने नार्पाभूमि गाउँपालिकाले जनाएको छ ।
मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किचो लेक, याक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिने समय हो ।



